२१ कार्तिक २०८३, शनिबार

राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भयो : प्रचण्ड


प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् ।

आज शनिबार काठमाडौंमा लेखक डा. दीपेन्द्र रोकाया र मोहन दास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण गर्दै प्रचण्डले विगतमा बर्षमा भएको सुशासन र बिकासका क्षेत्रमा केहि पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको बताएका हुन् ।

उनले आफ्नो नेतृत्वको सरकारलाई भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्त गरिएको समेत उल्लेख गरे । वर्तमान सरकारको कार्यशैलिप्रति असन्तुष्ट व्यक्त गर्दै प्रचण्डले सरकारका कामकाज हेर्दा हिन्दी जासुसी फिल्म जस्तो देखिएको तर्क गरे ।

सरकारले हुँदै नहुने विचित्रको काम देखाउन थालेको उनले बताए । संयोजक प्रचण्डले सुशासनका बिरुद्ध लड्दा आफुहरुलाई अपदस्थ गरेकै कारण अहिले देश दुर्घटनामा गएको धारणा राखे ।

‘प्रचण्ड’ले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकासका लागि नै सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याइएको बताएका छन् । उनले विभेदमा पारिएका वर्ग र क्षेत्रलाई समृद्धिको नयाँ यात्रामा लैजान आफू प्रधानमन्त्री हुँदा कर्णाली क्षेत्रमा पूर्वाधारको सुरुआत गरेको बताए ।

“पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग तथा उत्तरदक्षिण कोरिडोर निर्माणले नेपाललाई थप एकताबद्ध बनाएको छ, अब कर्णालीका स्याउ बाहिरी जिल्लामा पुर्‍याउन र तराईका अन्नबाली कर्णाली पुर्‍याउन अप्ठयारो छैन”, उनले भने, “रणनीतिक सोचको नेतृत्व नभएको भए यो विकास हुन सक्दैनथ्यो ।”

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले कर्णालीको समृद्धिका लागि १० हजार ८०० मेगावाटको कर्णाली–चिसापानी आयोजना, तिला–१ र तिला–२ आयोजना अघि बढाउन पहल गरिएको पनि जानकारी दिए । त्यस्तै हिल्सा–सुर्खेत सडक निर्माणलाई चीनको सहयोगमा अघि बढाउने विषयमा सैद्धान्तिक समझदारी भएको उनले स्मरण गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !