२० कार्तिक २०८३, शुक्रबार

प्राविधिक अध्ययनका आधारमा बाढी नियन्त्रणको योजना बनाइनुपर्छः सभापति लामिछाने


रवि लामिछाने

नारायणगढ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी नदी कटानबाट नारायणगढ बजार तथा आसपासका बस्तीमा पर्नसक्ने जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययनका आधारमा तत्काल र दीर्घकालीन योजना बढाइने बताएका छन् ।

नारायणी नदी किनारमा रहेको गौरेश्वर पशुपति मन्दिर क्षेत्रको निरीक्षणपछि उनले मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै प्राविधिक अध्ययनबिना हचुवाका भरमा निर्णय गर्न नहुने बताए ।

उनले नदी कटानको जोखिमबारे जानकारी पाएलगत्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग समन्वय गरी प्राविधिक टोली पठाएको जानकारी दिए । सभापति लामिछानेले टोलीले तत्काल गर्न सकिने काम र भविष्यमा आउन सक्ने ठूलो बाढीबाट नारायणगढ बजार जोगाउने दीर्घकालीन योजना तयार गर्न निर्देशन दिइएको बताए ।

“प्राविधिक रूपमा कुनै पनि ठाउँलाई सुरक्षित राख्न सम्भव छ कि छैन भन्ने ठूलो कुरा हो ।”, उनले भने, “प्राविधिक अध्ययनविना हचुवाको भरमा गरिएको निर्णयले कसैलाई पनि फाइदा गर्दैन ।”

सभापति लामिछानेले बाढीको जोखिम न्यूनीकरण गर्दा स्थानीयवासीको ज्यान जोगाउने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने, “यो क्रेडिट लिने कुरा होइन, यो ज्यान बचाउने कुरा हो ।”

सभापति लामिछानेले भविष्यमा अहिलेको भन्दा ठूलो बाढी आउनसक्ने अवस्थालाई ध्यानमा राखेर बजारको सुरक्षा योजना बनाउनुपर्ने र प्राविधिकबाट प्राप्त सुझाव सबैले पालना गरिनुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !