काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू कमजोर धरातलमा नउभिएको बताएका छन् । पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताएका हुन् ।
आज बिहीबार अपराह्न एउटा भिडियो सन्देश सार्वजनिक गर्दै उनले आफ्नो इमानदारी र नैतिकतामाथि प्रश्न उठाउन खोजिएको भन्दै त्यसको प्रतिवाद गरेका हुन् । बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूलाई बदनाम गर्न खोजिएको थापाको भनाइ छ ।
उक्त प्रकरणमा आफ्नो कुनै दोष नरहेको थापाको दाबी छ । उनले आफ्नो हातमा दाग र मनमा कुनै कालो नभएको उल्लेख गरे । नैतिक रूपमा आफू बलियो भएकै कारण सरकारका गलत कामविरुद्ध लड्ने आँट आएको थापाको भनाइ छ ।
विगतमा आफूभन्दा शक्तिशाली सरकारका गलत कामको समेत विरोध गर्दै आएको उल्लेख गरे । उनले आफ्नै पार्टीको सरकार हुँदा पनि गलत कामविरुद्ध बोल्न नछाडेको बताए ।
आफ्नो चरित्रमाथि प्रश्न उठाउने र विवादमा तान्ने प्रयास भइरहेको भन्दै थापाले सरकारबाट प्रायोजित अडियो सार्वजनिक गरिएको दाबीसमेत गरे । पटक–पटक विभिन्न विवाद र चुनौतीको सामना गरेर आफू अघि बढेको उनको भनाइ छ । उनले त्यसको आधार आफ्नो नैतिक बल र स्वच्छता भएको बताए ।
उनले गलत प्रश्न आफूलाई नगर्न पनि आग्रह गरेका छन् । थापाले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई विचलित नहुन र आफूलाई विश्वास गर्न आग्रह गरेका छन् ।











