१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो


अजयबाबु शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौंबाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको कांग्रेस मिडिया सेन्टरले जनाएको छ ।

उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् । आफूलाई प्रहरी लगाएर खोज्नु नपर्ने भन्दै उनले काठमाडौं आउँदै गरेको उल्लेख गरेका छन् ।

आज बिहीबार बिहान सहमहामन्त्री शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु ।”

शिवाकोटीले सरकारले विधिविधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै सामाजिक सञ्जालमार्फत नै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन् ।

प्रहरी हिरासतमा रहेका भनिएका बिचौलिया इनम सापकोटाको बयानसँग सम्बन्धित एउटा अडियो सार्वजनिक भएपछि कांग्रेसले उक्त अडियोलाई नियोजित र भ्रामक प्रचार भन्दै स्वतन्त्र तथा निष्पक्ष छानबिनको माग गरेको थियो । कांग्रेसका सहमहामन्त्री शिवाकोटीले अडियो सम्पादन तथा छेडछाड गरिएको आरोप लगाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !