१६ कार्तिक २०८३, सोमबार

राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट


राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधानमा नेपाल सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

“नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले गरेको निरन्तर सहयोग हाम्रा लागि महत्त्वपूर्ण छन् । नेपालको लोकतन्त्र, सङ्घीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विटजरल्यान्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डको सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको बताए । सो अवसरमा स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरेले हिमालहरू चलायमान हुँदैछन् भन्दै यसका लागि पूर्वसूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेकामा जोड दिए । उनले यसमा स्विट्जरल्यान्डले काम गरिरहेको भन्दै नेपालसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार हरेको उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !