काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेको संकेत गरेका छन् । आज आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राज्यका प्रमुख अंगहरूमा देखिएको अस्तव्यस्तताले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेको संकेत गरेका हुन् ।
देशमा बढ्दो भूराजनीतिक चलखेल, सत्ता र प्रतिपक्ष दलभित्र चर्कंदो अन्तरसंघर्ष तथा राज्यका प्रमुख अंगहरूमा देखिएको अस्तव्यस्तताले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेको संकेत गरेका उनको भनाइ छ ।
न्यायालय, प्रशासन, प्रहरीलगायत राज्यका प्रमुख अंगहरूमा अस्तव्यस्तता बढिरहेको उनले उल्लेख गरेका छन् । कुनै पनि बहानामा अस्थिरता र उथलपुथल निम्त्याउन नहुनेमा उनले जोड दिएका छन् ।
उनले अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, प्राकृतिक प्रकोपको बढ्दो भार र युवाको विदेश पलायनले पनि देशको अवस्था चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा निराशा चुलिँदै गएको उनको भनाइ छ ।
नेता भट्टराईले सबैलाई आ–आफ्नो क्षेत्रबाट जिम्मेवार बन्न आग्रह गरेका छन् । सकारात्मक योगदान गर्न नसके पनि नकारात्मक गतिविधि नगर्न उनको अपिल छ ।












