काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले वर्षा र प्रतिकूल मौसमको चेतावनी दिएपछि बाँके र दाङका किसानहरू पाकेको धानबाली सकुशल भित्र्याउन रातदिन जुटेका छन्।
काटिसकेको धान खेतमै भिग्ने र काट्न बाँकी धानबालीलाई हावाहुरी तथा बाढीले ढाल्ने चिन्ताले गर्दा किसानहरू चाडपर्व नै बिर्सिएर धान भित्र्याउन व्यस्त बनेका हुन्। विगतका वर्षहरूमा पनि असोज–कात्तिकको बेमौसमी वर्षाले तयार भएको बाली नष्ट गरेको अनुभव सम्झँदै बाँके र दाङका किसानहरूले थप खेताला खोजेर तथा सामूहिक रूपमा बाली घर भित्र्याइरहेका छन्। चाडबाडको समय भएकाले खेताला र थ्रेसर/ट्याक्टरजस्ता आधुनिक उपकरणको अभाव भए पनि किसानहरूले छिटो-छिटो धान काट्न र सुकाउन प्राथमिकता दिएका छन्।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाका ३३ हजार ५०३ हेक्टरमा रोपाइँ भएको धान पाकेर तयार भइसकेकाले वर्षाको त्रासमा किसानहरू खेतमै खटिएका छन्। उता दाङका तुलसीपुरलगायत विभिन्न क्षेत्रका किसानहरूले पनि गत वर्ष पानीले धान कुहिएको तीतो अनुभव दोहोरिन नदिन इष्टमित्र र छिमेकीको सहयोग लिएर धमाधम धान भित्र्याएका छन्।












