काठमाडौं। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप-३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनुपर्नेमा जोड दिएको छ। सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा सभापति गणेश पराजुलीले जलवायु कूटनीति र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
सभापति पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता केवल औपचारिक भ्रमणमा मात्र सीमित हुन नहुने स्पष्ट पारे। उनले अन्तर्राष्ट्रिय वार्तामा सहभागी हुने प्रतिनिधिहरू विषयविज्ञ हुनुपर्ने र नेपालको हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम हुनुपर्नेमा जोड दिए। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेतासमेत रहेका पराजुलीले नेपालको पेभिलियन तथा वृत्तचित्रमार्फत हालैका बाढीपहिरो र जलवायुजन्य विपद्बाट भएको क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने बताए। साथै, विपद्को क्षतिसँगै नेपाल सुरक्षित र पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको सकारात्मक सन्देश पनि प्रवाह गर्नुपर्ने उनको भनाइ छ।
बैठकमा सम्बन्धित मन्त्री, मन्त्रालयका सचिव तथा वातावरण महाशाखा प्रमुखसँग कोप-३१ सम्मेलनमा नेपालले उठाउनुपर्ने विषय र रणनीतिबारे छलफल भएको थियो। समितिले संयुक्त राष्ट्रसङ्घमा प्रधानमन्त्री र अन्तर-संसदीय सङ्घमा सभामुखले व्यक्त गरेका धारणालाई ध्यानमा राख्दै राष्ट्रिय हितअनुकूल वार्ता अघि बढाउनुपर्नेमा जोड दिएको छ। यसका साथै, समितिका १५ सदस्यलाई नौवटा विषयगत क्षेत्र समेट्ने गरी पाँच समूहमा विभाजन गर्ने प्रस्तावमाथि पनि छलफल भएको छ। सदस्यहरूको रुचि र विषयगत दक्षताका आधारमा जिम्मेवारी निर्धारण गरिने समितिले जनाएको छ। समितिले जलवायु न्याय र हानि-नोक्सानीका सवाललाई प्रभावकारी रूपमा उठाउँदै नेपालको सहभागितालाई ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको छ।












