७ कार्तिक २०८३, शनिबार

बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब ९ करोड लाग्ने अनुमान


बेनी–दरवाङ–मुना सडक

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब ७ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत ८ देखि ११ असोजसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पुर्‍याएको हो ।

बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकमा करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । बाढीपहिरो र नदी कटानले सडकको सतह भासिनुका साथै ग्यावियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाउँदा पूर्वाधारमा ठूलो क्षति पुगेको कार्यालयका इन्जिनियर मोहन रुवालीले जानकारी दिए ।

उनका अनुसार बेनीदेखि मंगला गाउँपालिका– २, पानाबगरसम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेर सडक संरचनामा क्षति पुगेको छ । नदी कटानका कारण दुई स्थानमा सडक भत्किएको छ । यस खण्डमा मात्रै सडक पूर्वाधारमा ३ देखि ४ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

मालिका गाउँपालिका– ६ स्थित बलौटेमा म्याग्दी नदी कटानले करिब १०० मिटर कालोपत्र सडक बगाएर क्षतविक्षत बनाएको छ । पानाबगरदेखि दरवाङसम्म चार स्थानमा पहिरो खसेर सडकमा क्षति पुगेको छ । त्यस्तै, दरवाङदेखि मुना खण्डको धारापानीमा करिब १५० मिटर ढलान गरिएको सडक भासिएको छ भने थापाचौरमा पहिरोले सडक संरचनामा क्षति पुर्‍याएको छ ।

सडकमा क्षति पुगेपछि बेनीदेखि मुना सम्मको सिधा यातायात प्रभावित भएको छ । बलौटेदेखि तोलाबाङसम्मको सडकमा ठूलो क्षति पुगेपछि मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुलदेखि दुखुबेँसीहुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !