भक्तपुर । अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शय्याको अत्याधुनिक सघन उपचार कक्ष (मोडुलर आइसीयू) सञ्चालनमा आएको छ ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अब भक्तपुर र पूर्वबाट आएका बिरामीलाई अत्याधुनिक आइसीयू खोज्दै काठमाडौँमा भौतारिनु नपर्ने बताए । उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि गम्भीर रोगका बिरामी र शल्यक्रियामा समेत यो आइसीयू प्रभावकारी रूपमा प्रयोगमा आउनेछ ।
अस्पतालले प्रदान गर्दै आएको गुणस्तरीय सेवामा आइसीयूले थप टेवा पुग्ने बताउँदै नगरप्रमुख श्रेष्ठले भने, “देशभरका नगरपालिकाहरूद्वारा सञ्चालित अस्पतालमध्ये नेपाल–कोरियामैत्री अस्पताल सबैभन्दा सुविधा सम्पन्न र ठुलो अस्पतालका रूपमा पहिचान बनाउन सफल भएको छ । यस अस्पताल बीमा क्लेम गर्ने पाँचौँ ठुलो अस्पतालसमेत बन्नु हाम्रो लागि गौरवको विषय हो । नगरपालिकाले यस अस्पतालको सेवालाई अझै ‘स्पेसिलिस्ट’ सेवाहरू विस्तार गर्दै लैजान्छ ।”
अस्पतालले प्रवाह गर्ने सबै सेवाहरू गुणस्तरीय भएकै कारण हरेक वर्ष उपचारका लागि आउने बिरामीका सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउँदै उनले अहिले दैनिक एक हजार १०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताए ।
उनका अनुसार नयाँ सुविधासम्पन्न नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको बताउँदै नयाँ भवन सञ्चालनमा आएपछि बिरामीका लागि धेरै सुविधा थपिनेछ । अस्पतालले छिट्टै मुटु रोग (कार्डियो) सेवासमेत सञ्चालन गर्ने तयारी गरेको र मुटुरोगका बिरामीलाई सहजताका लागि ए ग्रेडको एम्बुलेन्ससमेत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
नगरप्रमुख श्रेष्ठले भने, “हामीले बिरामीको घरदैलो सेवा प्रवाह सञ्चालन गरेका छौँ, अस्पतालले प्रोटेवल अल्ट्रासाउन्ड मेसिनसमेत खरिद गरेर वडा–वडामा पुगेर घरदैलो सेवा दिएकै कारण मुलुकका १० उत्कृष्ट सामुदायिक अस्पतालभित्रमा यो अस्पताल पर्न भएको हो । हामीले चाँगुनारायण अस्पतालमा समेत यहाँबाट विशेषज्ञ सेवा दिने गरेका छौँ ।”
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले चार वर्ष अगाडिसम्म नोक्सानमा चलिरहेको यो अस्पताल गुणस्तरीय सेवा सुविधा थप भएसँगै अहिले फाइदामा पुगेको भन्दै यस अस्पताललाई विशिष्टीकृत अस्पतालका रूपमा विकास गरिरहेको बताए ।
अस्पतालमा अत्याधुनिक आइसीयू सञ्चालनमा आएसँगै बिरामीले आइसीयू नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै उहाँले यस अस्पताललाई देशभरकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्ने बताए ।












