१८ आश्विन २०८३, आइतबार

गगन थापाको प्रस्ताव : प्रधानमन्त्री दुई कार्यकाल मात्रै हुन पाउने


गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्थाको प्रस्ताव अघि सारेका छन् । कांग्रेसका सभापति थापाले १५औँ महाधिवेशनमा पेश गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण प्रस्ताव अघि सारेका छन् ।

प्रतिवेदनले कांग्रेसको विगतको समीक्षा गर्दै पछिल्लो समय सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिका कारण जनतासँग दूरी बढेको स्वीकार गरेको छ । अब पार्टीलाई नयाँ राजनीतिक संस्कार र कार्यशैलीसहित अघि बढाउने प्रस्ताव प्रतिवेदनमा गरिएको छ ।

आज आइतबार काठमाडौंको खुलामञ्चमा कांग्रेसको महाधिवेशन सुरू भएको छ । उक्त महाधिवेशनमा सभापति थापाले प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव अघि सारेका हुन् ।

प्रधानमन्त्रीको कार्यकालमा सीमा तोक्ने प्रस्तावले कार्यकारी नेतृत्वमा लामो समयसम्म एउटै व्यक्ति रहने अवस्थालाई संवैधानिक व्यवस्थामार्फत सम्बोधन गर्न खोजेको देखिन्छ। त्यसैगरी निर्वाचनमा ‘नन अफ द अबभ’ (राइट टु रिजेक्ट) को विकल्प र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने प्रस्ताव अघि सारेका छन् ।

प्रतिवेदनमा नेपालको निर्वाचन प्रणालीलाई थप सहभागीमूलक र पारदर्शी बनाउने तथा राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपमा पार्टीको रूपान्तरण गर्ने विषय समेटिएका छन्। विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार दिने प्रस्तावले देशबाहिर रहेका नेपालीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयलाई जोड दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !