काठमाडौं । नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सांसद अमरेश सिंहमाथि सुराकी नलगाएको स्पष्ट पारेका छन् । आज मंगलबारको मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग निर्णय सार्वजनिक गर्दै पोखरेलले आमाथि सरकारले सुराकी परिचालन गरेको भन्ने सांसद सिंहको आरोपको खण्डन गरेका हुन् ।
उनलाई पत्रकारले ‘पार्टी सभापति र सांसद सिंहका पछि सुराकी परिचालन गर्नुभएको छ रे नि’ भन्ने प्रश्नमा मन्त्री पोखरेलले सरकारले कसैका पछि सुराकी परिचालन नगरेको बताए । “खै कसरी उहाँले भन्नुभयो थाहा भएन, सरकारले निगरानी गरेको छैन,” मन्त्री पोखरेलले भने, “उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो, सोध्नुपर्ने हुन्छ । सरकारले निगरानी गर्ने कुरा नै हुँदैन ।”
सांसद सिंहले एक प्राइम टाइम टेलिभिजनसँगको अन्तर्वार्तामा सरकारले पार्टी सभापति र आफ्ना पछि सुराकी परिचालन गरेको बताएका थिए । उनले सभापति लामिछाने र आफू त्यसबाट नडराउने र यस्ता कामले सरकारलाई नै क्षति पुग्ने चेतावनी समेत दिएका थिए ।
सिंहले अपराध नियन्त्रणमा प्रयोग हुनुपर्ने राज्यको सुराकी संयन्त्र नेताहरूको निगरानीमा प्रयोग भइरहेको आरोप लगाएका थिए । उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको धरपकडबाट सरकारले विभिन्न नेता तथा व्यक्तिलाई त्रास सिर्जना गर्न खोजेको दाबी गरेका थिए । आफू पक्राउ पर्न सक्ने अवस्थाका लागि तयार रहेको भन्दै सिंहले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरू कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको बताएका थिए ।









