१२ आश्विन २०८३, सोमबार

विपत्तिमा परेर असोज ८ गतेदेखि हालसम्म २७ जनाको निधन


बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

काठमाडौँ। अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य बनाउनतर्फ सरकार तदारुकताका साथ लागिरहेको प्रधामन्त्री कार्यालयले जनाएको छ ।

गत असोज ८ गतेदेखि वर्षासँगै आएको बाढी पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन रहेका छन् । यस अवधिमा भएका ५१३ वटा मनसुनका घटनाबाट १,०६५ परिवार प्रभावित भएका छन् ।

बाढी पहिरोबाट देशभरका विभिन्न राजमार्ग र सडकखण्डका १४७ स्थानमा क्षति पुगेकोमध्ये १२५ स्थानमा सरकारले अहोरात्र आफ्ना संयन्त्रहरू परिचालन गरी मर्मतपश्चात् सञ्चालनमा ल्याइसकेको र बाँकीको मर्मत पनि चाँडै हुने बताइएको छ ।

त्यसैगरी, बाढीका कारण कालीगण्डकी कोरिडोर, मर्स्याङ्दी र सेती-मादी कोरिडोर लगायत गरी राष्ट्रिय प्रसारण लाइनबाट १,०१३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएकोमध्ये सेती/मादी कोरिडोरमा रहेका कुल २६२ मेगावाट र मर्स्याङ्गदी कोरिडोरमा १९० मेगावाटका जलविद्युत् केन्द्रहरु सञ्चालनमा आएका छन् भने बाँकीको मर्मत पनि चाँडै हुने सरकारले जनाएको छ ।

यसैगरी क्षति पुगेको दूरसञ्चार सेवा पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको र नेपाल टेलिकमका १,१३२ टावरको नेटवर्क विच्छेद भएकामा अहिले ७८२ वटालाई सञ्चालनमा ल्याइएको छ भने एनसेलको १६२ वटा नेटवर्क विच्छेद भएकोमा १०५ वटालाई मर्मत गरिएको बताइएको छ ।

बाढी पहिरोबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सारेर उनीहरुलाई सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरी राहत तथा अस्थायी बसोबासको प्रबन्ध मिलाइएको सरकारले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !