काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । चोलेन्द्रका छोरा सचिन्द्र शमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिइएको हो।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरामाथि ‘सुरक्षा थ्रेट’को सूचना पाएको भन्दै शनिबार मध्यरात नियन्त्रणमा लिएर आइतबार अपराह्न छाडेको थियो । निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ ।
उनी छुटेकै दिनको मिति अर्थात् हिजो आइतबार शान्ति सुरक्षाको निवेदन प्राप्त भएको प्रहरीको भनाइ छ । राणाले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा सम्पादन गरेका न्यायिक निर्णयका कारण आफूलाई थप असुरक्षा महसुस भएको निवेदनमा उल्लेख गरेका छन्।
आफूले केही विषयबारे पछिल्लो समय प्रहरी कार्यालयमा जानकारी पाएपछि थप सुरक्षा आवश्यक देखिएको भन्दै राणाले सुरक्षा थप गर्न माग गरेका हुन्। निवेदनमा राणाले आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी नै रहेको उल्लेख गर्दै निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरेका छन् ।









