काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित भएकी छन् । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी गुरुङ सेमिफाइनलमा पराजित भएकी हुन् ।
कुमिते विधाको ६८ केजीमाथिको प्रतिस्पर्धामा एरिका सेमिफाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २-१ ले पराजित भएकी हुन् । एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् ।
निकै कडा टक्कर दिए पनि एरिकाले खेल आफ्नो पक्षमा पार्न सकिनन् । एरिकाले यसअघिको संस्करणको फाइनलमा पनि बेरुल्टसेभासँगै हार व्यहोरेकी थिइन् । यसपालि एरिकाले क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरविरुद्ध ७–१ को सहज जित निकालेकी थिइन् ।









