३१ भदौ २०८३, बुधबार

सुत्केरीलाई ६ महिना र श्रीमानलाई ४२ दिन बिदा दिने प्रस्ताव


सुत्केरीलाई ६ महिना र श्रीमानलाई ४२ दिन बिदा दिने प्रस्ताव

काठमाडौँ । सरकारले सुत्केरीलाई कम्तीमा ६ महिना तलब सहितको प्रसुति बिदा र श्रीमानलाई ४२ दिनसम्म तलब सहितको प्रसुति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधनका लागि तयार गरिएका मस्यौदा कानुनी प्रक्रियाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको हो ।

मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ सहित स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधनको प्रक्रिया अघि बढाएको हो। तीमध्ये सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनको मस्यौदामा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

प्रस्तावित संशोधनले प्रसूति बिदालाई हाल कायम ९८ दिनबाट बढाएर ६ महिनासम्म पुर्‍याउने व्यवस्था गरेको छ। त्यस्तै, प्रसूति सेवा दिने स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूति सेवाकर्मीको व्यवस्था, सम्मानजनक प्रसूति सेवा तथा गर्भवती र सुत्केरी महिलामाथि हुने शारीरिक वा मानसिक हिंसा रोक्ने कानुनी व्यवस्था पनि प्रस्ताव गरिएको छ।

कानुनमन्त्री सोबिता गौतमले सामाजिक सञ्जालमार्फत विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारी भइरहेको जानकारी दिएकी छन् । मन्त्री गौतमले कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको समेत उल्लेख गरेकी छिन् । बच्चा जन्माउन युवाहरुको आकर्षण घटेपछि नेपालको जनसंख्या वृद्धिदरमा समेत कमी आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !