३१ भदौ २०८३, बुधबार

भोटेकोशी बाढीले खोस्यो पौडेल परिवारको सहारा


भोटेकोशी बाढीले खोस्यो पौडेल परिवारको सहारा

बर्दिया । भोटेकोशी बाढीले बर्दिया बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलको परिवारको सर्वस्व सकिएको छ। बाढीमा परी पौडेल परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात परेको छ।

नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियर पदमा कार्यरत सोमनाथसँगै उनकी पत्नी तारा उपाध्याय र २८ महिनाका जुम्ल्याहा छोराछोरी शिवान्स र तिसिया सम्पर्कविहीन भएका हुन्।

छोरा, बुहारी र नातिनातिना सम्पर्कविहीन भएपछि पौडेल परिवारमा ठूलो बज्रपात परेको छ। दिनरात उनीहरूको पर्खाइमा रहेका बुबा उमानाथ उपाध्यायले आँसु झार्दै भने, “छोरा, बुहारी र नातिनातिना बाढीमा सम्पर्कविहीन भएपछि परिवारमा ठूलो बज्रपात परेको छ। हामी रातदिन छोराबुहारी र नाति नातिनाकै पर्खाइमा छौँ, तर कतैबाट पनि केही जानकारी प्राप्त हुन सकेको छैन।”

सम्पर्कविहीन सन्तानलाई सम्झिँदै पौडेल परिवारका सदस्य रातदिन पीडामा छन्। नाति नातिनालाई खेलाएको सम्झिँदै आमा लक्ष्मी उपाध्याय रातदिन विलाप गर्ने गरेको उमानाथले बताए। उनले भने, “बाढीले छोराको वंश मात्रै खोसेर लगेन, यो बुढेसकालको सहारा पनि खोसेर लग्यो। हामी आमाबुवालाई सहनै नसक्ने गरी पीडा दिएर गएको छ।”

सम्पर्कविहीन छोरा सोमनाथलाई बुबा उमानाथले दुःख गरेर भारतको चेन्नईस्थित अन्न विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ पढाएका थिए। छोरालाई पढाउन गरेको दुःख सम्झिँदै उनले भने, “आफूले खाइनखाई छोरालाई इन्जिनियर पढाएँ। यो बुढेसकालमा छोराको सहारा लिने बेलामा हामीलाई नै सहाराविहीन बनाएर गयो।”

सोमनाथ विगत नौ वर्षदेखि त्रिशूली–३ ‘बी’ आयोजनामा कार्यरत थिए। छोराछोरी सानै भएकाले उहाँ परिवारसहित नुवाकोट बस्दै आएका थिए। भाइ, बुहारी र भतिजाभतिजीको खोजीमा घटनास्थल नुवाकोट पुगेका सोमनाथका दाजु तुलसीराम पौडेलले आफू दुई पटक नुवाकोट पुगे पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेको बताए।

“भाइ र बुहारीको खोजीमा दुई पटक नुवाकोट गएँ। सात दिन बसेँ तर कतै पनि पत्ता लागेन। भाइसँगै काम गर्ने पाँच जनासँग भेटेँ। कसैले बाढी आउनुभन्दा दुई मिनेट अघिसम्म भाइसँगै रहेको बताए भने कसैले पावर हाउसको कार्यालयभित्र छिरिसकेको अवस्थामा देखेको बताए,” उनले भने।

छोराको पहिचानका लागि बुबा उमानाथले यही भदौ २१ गते जिल्ला अस्पताल गुलरियामा ‘डिएनए’ परीक्षणका लागि रगतको नमूना दिएका छन्। बुहारीको डिएनए परीक्षणका लागि ससुरा चन्द्रमणि उपाध्यायले पनि रगतको नमूना दिएका छन् तर डिएनए परीक्षणको रिपोर्ट भने अझै आइसकेकाे छैन।

कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका सोमनाथ जस्तै बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले बताए। उनका अनुसार बाँसगढी नगरपालिकाका मात्रै १२ जना सम्पर्कविहीन छन् भने ५३ जना घर फर्किसकेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !