२९ भदौ २०८३, सोमबार

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भने– विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ


स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भने– विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिले विपद्का बेला सङ्घीय सरकारले खोज, उद्धार, उपचार तथा राहतमा प्रभावकारी भूमिका खेलेको बताएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहसँग सोमबार भएको छलफलमा जनप्रतिनिधिहरूले बाढी आएको दिनदेखि नै सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा मन्त्री तथा कर्मचारी परिचालन गरेको र राहत तथा उद्धारको नियमित अनुगमन गरेको भन्दै प्रशंसा गरेका हुन् ।

धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले यसपटकको विपत्ति विगतका घटनाभन्दा ठूलो भए पनि सरकारले तत्काल खोज, उद्धार र राहतलाई प्रभावकारी रूपमा अघि बढाएको बताए ।

“यति ठूलो विपत्ति कहिल्यै आएको थिएन । विपद्लगत्तै सरकारले खोज, उद्धार र राहतलाई प्रभावकारी बनायो,” उनले भने, “विगतका विपद्मा त्यस्तो देखिएको थिएन । यसका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु ।”

नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पनि सङ्घीय सरकारको समन्वयमा तत्काल खोज तथा उद्धार सुरु भएको र प्रभावित क्षेत्रमा नियमित अनुगमन तथा निरीक्षण भइरहेको बताए ।

जनप्रतिनिधिहरूले बाढी प्रभावित नागरिकको पुनःस्थापनाका लागि आगामी दिनमा सङ्घीय सरकारसँग निरन्तर सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनीहरूले विपद् व्यवस्थापनमा कुनै प्रकारको भेदभाव नगरी काम गर्नुपर्नेमा जोड दिँदै विभिन्न गैरसरकारी संस्थाले प्रभावित क्षेत्रमा घर निर्माण तथा बालबालिकालाई आश्रय दिने आश्वासन दिन थालेकाले त्यसको प्रभावकारी निगरानी गर्न सरकारसँग आग्रह गरे ।

छलफलमा जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ता व्यक्तिको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि अस्थायी बसोबासको व्यवस्था गर्न माग गरे ।

त्यस्तै, बाढी प्रभावित नदी तटीय क्षेत्रलाई हरियाली क्षेत्रका रूपमा विकास गर्दै नजिकैका सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन् । सुरक्षित स्थानमा बस्ती व्यवस्थापनका लागि आफूहरू पनि आवश्यक सहकार्य गर्न तयार रहेको जनप्रतिनिधिहरूले बताए ।

छलफलमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नुवाकोटका प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र प्रतिनिधिसभा सदस्य अच्युतम लामिछाने सहभागी थिए ।

त्यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित नुवाकोटका विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी थिए ।

रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ तथा धादिङबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया सहभागी थिए ।

त्यस्तै तनहुँका देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना पनि छलफलमा सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु