२५ भदौ २०८३, बिहिबार

प्रचण्डको चिन्ता – ‘अहिलेको नेपाल नेपालीको हातमा छैन, देशै रहन्छ कि रहँदैन भन्ने छ !’


प्रचण्डको चिन्ता

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले नेपालीको हातमा नरहेको दावी गरेका छन् । आज बिहीबार सिरहाको मिर्चैयामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले गम्भीर संकटमा रहेको दाबी गरेका हुन् ।

उनले संविधान र जनताको अधिकारमाथि संकट उत्पन्न भएको पनि टिप्पणी गरे । संयोजक प्रचण्डले गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपालको राजनीतिक अवस्था थप जटिल बनेको जिकिर गरे । संविधान, लोकतन्त्र र जनताको अधिकारमाथि चुनौती बढेको उनको भनाइ थियो।

‘अहिले नेपाल हाम्रो हातमा छैन, अर्कैको हातमा छ,’ उनले भने, ‘नेपाल नेपालीको हातमा फर्काउन एउटा ठूलो मोर्चा र आन्दोलन आवश्यक छ।’ उनले नेपाल राष्ट्र रहने हो कि होइन भन्ने चिन्ता आम नेपाली जनताको मनमा पैदा भएकोए देशमा फेरि अर्को दुर्घटना हुने हो कि भन्ने आशंका पनि बढेको बताए ।

नेपालको भविष्यबारे बाह्य शक्तिको प्रभाव बढेको दाबी गर्दै उनले फेरि अर्को राजनीतिक दुर्घटना हुन सक्ने आशंकासमेत व्यक्त गरे । उनले पटक–पटक ‘नेपाल ठूलो संकटमा छ’ भन्दै नेता तथा कार्यकर्तालाई गम्भीर भएर परिस्थितिको विश्लेषण गर्न आग्रह गरे ।

भदौ २४ गतेपछि संविधान मिचेर सरकार गठन भएको दाबी गर्दै उनले संसद् विघटन गर्नै नहुने अवस्थामा गरिएको र नेपालको राजनीतिक भविष्यबारे विदेशी शक्तिहरूले निर्णय गर्न थालेको आरोप लगाए । उनले अहिले नेपाल नेपालीकै हातमा छ भन्ने ठान्नु भ्रम मात्रै रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !