२५ भदौ २०८३, बिहिबार

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय


मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । आज बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

१. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा २०८३ असोज ६ देखि १० गतेसम्म प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।

२. भारतको नयाँदिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने ।

३. अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

४. काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहहरूका १७ हजार ४३८ गरिब घर परिवारको सूची स्वीकृत गर्ने ।

५. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल, भक्तपुर तथा सदस्यहरूमा रामशरण सापकोटा, मकवानपुर र महिला सदस्यमा विष्णु घिमिरे रिमाल, काठमाडौंलाई नियुक्त गर्ने ।

६. सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।

७. सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !