२१ भदौ २०८३, आइतबार

थेराङ खोला र बूढीगण्डकीको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति


चुमनुब्रीस्थित थेराङखोलाको बाढी

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा थेराङ (नाम्रुङ) खोला र बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पुल र दुईवटा लघुजलविद्युत् आयोजना बगाएको छ। बाढीले चारवटा घरसमेत बगाएपछि स्थानीयवासी समस्यामा परेका छन्।

चुमनुब्री गाउँपालिका–२ र ४ को सीमाक्षेत्रमा पर्ने थेराङ खोलामा वर्षापछि पहिरोसहित आएको बाढीले वडा नं ४ का चारवटा घर बगाएको हो। बाढीले मनास्लु पदमार्गमा पर्ने दुईवटा पुलसमेत बगाएको स्थानीयले बताएका छन्।

स्थानीय लाक्पा डुण्डुप लामाका अनुसार थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ। बाढीका कारण बूढीगण्डकी नदीको बहाव बढेपछि नाम्रुङभन्दा तल जङ्गल क्षेत्रमा रहेको अर्को पुलसमेत बगेको छ।

‘बाढी पहिरोले गाउँलाई जोखिममा पारेको छ। गाउँबाट तल जाने पुल पनि बगायो, माथि जाने पुल पनि बगायो। कतै जान सक्ने अवस्था छैन,’ लामाले भने।

बाढीले स्थानीयले प्रयोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको छ। तीमध्ये हालै करिब सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न गरी परीक्षण प्रसारणमा रहेको १०० किलोवाट क्षमताको आयोजना र यसअघि सञ्चालनमा रहेको २२ किलोवाट क्षमताको अर्को आयोजना बाढीले बगाएको स्थानीयले बताएका छन्।

जलविद्युत् आयोजना बगेपछि नाम्रुङमा विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। विद्युत् नहुँदा बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट सञ्चालन हुने अन्य सेवा प्रभावित भएका छन्।

पुल बगेपछि मनास्लु क्षेत्रमा सुरु भएको पर्यटक आवागमनसमेत प्रभावित भएको छ। लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीमा पुल नहुँदा बाटोमै समस्यामा परेका छन्। बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। राति आएको बाढीका कारण घर बगाए पनि मानवीय क्षति भने भएको छैन।

वडाध्यक्ष पेमाग्याल्बो लामाका अनुसार बाढी आउँदा गाउँमा ठूलो आवाजसहित कम्पन भएको थियो। त्यसपछि स्थानीयवासी घरबाट निस्किएर सुरक्षित स्थानतर्फ गएकाले मानवीय क्षति हुनबाट जोगिएको हो।

बाढीबाट घर गुमाएका चार परिवारलाई तत्काल राहत उपलब्ध गराउने तयारी गरिएको छ। उनीहरूलाई खाद्यान्न तथा लत्ताकपडाका लागि प्रतिपरिवार २० हजार रुपैयाँका दरले तत्काल राहत दिने र केही दिनभित्र गाउँपालिकाको तर्फबाट प्रतिपरिवार एक लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराउने तयारी गरिएको वडाध्यक्ष लामाले बताए। अन्य निकायबाट राहत उपलब्ध गराउनसमेत पहल भइरहेको छ।

बाढीले सडक, पुल र विद्युत् संरचनामा क्षति पुर्‍याएपछि नाम्रुङसहित चुमनुब्री क्षेत्रको आवतजावत र जनजीवन प्रभावित भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !