८ भदौ २०८३, सोमबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


हिक्मतकुमार कार्की

विराटनग । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न उनले प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम प्रस्ताव पेस गरेका थिए ।

मुख्यमन्त्री कार्कीको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्यले मत दिए । उनले  ५७ मत प्राप्त गरेका छन् । कोशी प्रदेशसभामा एमालेका ४० र नेकपाका १७ सदस्य छन् । विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरे । नेपाली कांग्रेसका २९ सदस्य रहेकामा विपक्षमा २२ मत परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित पाँच सदस्य छन् । उनीहरु तटस्थ रहे ।

जनता समाजवादी पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू आजको सभामा उपस्थित भइनन् भने एक जनाले यसअघि राजीनामा दिइसकेका छन्  । विश्वासको मतदान प्रक्रियामा ८३  सदस्य सहभागी भएका थिए । प्रदेशसभाको अर्को बैठक यही भदौ ९ गते दिउँसो १ः०० बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !