३ भदौ २०८३, बुधबार

सांसद र मन्त्रीलाई संयमित भएर प्रस्तुत हुन सभापति लामिछानेको निर्देशन


रवि लामिछाने

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसदहरु र मन्त्रीहरुलाई संसदमा संयमित भएर प्रस्तुत हुन निर्देशन दिएका छन् ।

आज बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकमा रास्वपा सभापति लामिछाने संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्वन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो राखेका हुन् ।

संसदमा रास्वपाका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन् । छलफलका क्रममा जनताका मुद्दालाई संसदमा कसरी प्रभावकारी र मर्यादित ढंगले प्रस्तुत गर्ने भन्ने विषयमा पनि विचार–विमर्श जारी रहेको जनाइएको छ ।

रास्वपाका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाइरहेको भन्दै आलोचना बढेपछि सो लाई ध्यानमा राखेर सभापति लामिछानेले सुधारका लागि निर्देशन दिएको जनाइएको छ ।

रास्वपाले आफ्ना मन्त्री तथा सांसदको कार्यशैली र संसदमा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको हो । पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भनेर आलोचना भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !