१७ श्रावण २०८३, आइतबार

ओलीको आदेश भन्दै शेरधनले मागे मुख्यमन्त्री हिक्मतको राजीनामा


ओलीको आदेश भन्दै शेरधनले मागे मुख्यमन्त्री हिक्मतको राजीनामा

विराटनगर । नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले एमालेकै मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा मागेका छन् । कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चलिरहँदा एमाले कोशी प्रदेशका इन्चार्ज राईले मार्गप्रशस्त गर्न मुख्यमन्त्री कार्कीलाई आग्रह गरेका हुन् ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशीका इन्चार्ज रहेका पार्टी सचिव शेरधन राईलाई यो जिम्मेवारी दिएका छन् । छलफलमा राईले ओलीको सन्देश सुनाएका थिए । एमाले पुनगर्ठन अभियानमा कार्की लागेपछि उनलाई जसरी पनि हटाउने निष्कर्षमा ओली छन् । कोशी, लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीहरु नै पुनर्गर्ठन अभियानमा लागेका थिए ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्कीलाई निरन्तरता दिने सहमतिबाट एमाले अध्यक्ष ओली पछि हटेका छन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा ओलीले कार्कीलाई निरन्तरता दिने सहमति गरेतापनि उक्त सहमतिबाट पछि हटेर कार्कीलाई हटाउन ओली आफै सक्रिय भएका छन् ।

पार्टी अध्यक्षको निर्देशन भन्दै राईले नयाँ सरकार पुनर्गठनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्न कार्कीलाई आग्रह गरेका हुन् । बेलायत भ्रमणपछि फर्किएका पार्टी इन्चार्ज राईले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीलाई राजीनामा दिएर सहज बनाउन आग्रह गरेको स्रोतको भनाइ छ ।

केन्द्रमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका वीच प्रदेशको सत्ता बाँडफाँड गर्ने सहमति हुँदा कोशी नेकपा एमालेको भागमा परेको छ । एमालेकै नेतृत्वमा सरकार हुँदा यस्तो विषम परिस्थितिमा नेतृत्व परिवर्तन गर्दा सन्देश राम्रो नजाने भन्दै मुख्यमन्त्री कार्कीले भने सरकार पुनर्गठन गर्न नहुने अडान लिएका छन् ।

एमाले स्रोतका अनुसार अहिले मुख्यमन्त्री कार्कीको स्थानमा तिलकुमार मेन्याङ्वोलाई प्रदेशको मुख्यमन्त्री बनाउने तयारी रहेको छ । उनी यसका लागि प्रदेश सभा सदस्यहरूसँगै बैठक गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु