काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. गोविन्द केसीसँग छलफल सुरु भएको बताएका छन् । आज शुक्रबार शिक्षा पत्रकारहरूसँग मन्त्रालयमा कुरा गर्दै शिक्षामन्त्री पोखरेलले डा. केसीसँग अनौपचारिक संवाद सुरु भएको जानकारी दिएका हुन् ।
आज पत्रकारहरूसँग कुराकानी उनले अनशनरत डा. केसीको मागबारे सरकारको ध्यानाकर्षण भएको बताएका हुन् । डा. केसीकै कारण अस्वभाविक शुल्क नियन्त्रण र छात्रवृत्ति पारदर्शी भएको उल्लेख गर्दै उनले अब पनि सरकारले छलफल गर्ने बताए ।
उनले केसीकै कारण गरिबहरूले चिकित्सा शिक्षा अध्ययन गर्न पाएको बताए। डा.केसी बिहीबारदेखि धनगढीमा २४औँ सत्याग्रह (अनसन) बसेका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी बिहीबारदेखि आमरण अनशन बसेका छन् ।
धनगढीको एलएनचोकको कृष्ण मन्दिरस्थित धर्मशालामा बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले आफ्ना मागका लागि दबाब दिन सत्याग्रहको घोषणा गरेका हुन्। केसीले सरकारलाई आफ्ना ५ बुँदे माग सम्बोधन गर्न साउन ५ गतेसम्मको समयसीमा दिएका थिए ।
अनशनमा केसीले विशेष गरी नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप र स्वार्थको द्वन्द्वलाई मुख्य मुद्दा बनाएका छन् । उनले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियमविपरीत गरिएका गैरकानुनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गरेका छन् ।













