२९ असार २०८३, सोमबार

कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ


शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ । सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको हो ।

उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् । स्थानीयले उक्त गाडी छाडेर प्रहरीकै गाडीमा चढेर ती चालक फर्किएको बताए पनि प्रहरीले भने थप अनुसन्धान भइरहेको बताएको छ ।

थापाको निवासबाहिर करिब १० फिटको सडक छ । उक्त सडकमा गाडी पार्क गरिएपछि स्थानीयको सवारीसाधनलाई समेत आवतजावत गर्न अवरोध पुगेको छ । सोही कारण स्थानीय आक्रोशित भएपछि थापा समेत रातोपुल पुगेका थिए । उनले एक दिनको असुविधाका निम्ति क्षमा दिन भन्दै गाडीमा कुनै क्षति नपुर्‍याउन स्थानीयलाई आग्रह गरे ।

सभापति थापा ०८२ भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनपश्चात् उक्त निवासमा बस्दैनन् । गाडी रोकिएको सूचनापछि दुईपटकसम्म प्रहरी त्यहाँ उपस्थित भएको थियो । तर, गाडी हटाउने वा धनी खोजेर जिम्मा लगाउने पहल नगरेको थापाको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !