काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । सभाले विधायन व्यवस्थापन समितिको संशोधनसहितको प्रतिवेदनलाई स्वीकार गरेको छ । सो विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री रावलले समितिमा आएका संशोधन र मननीय सुझावप्रति धन्यवाद दिए । विधेयकमाथि छलफलमा डा. प्रेम दङ्गालले संशोधनकर्ता सदस्यका विषयलाई सरकारले स्वीकार गरेकामा धन्यवाद दिए ।













