जनकपुर । नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो जेल चलान भएका छन् । एमाले पूर्वसांसद कोइरीलाई आज जेल चलान गरिएको हो ।
हिजो बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले काेइरीलाई महाेत्तरीकै गौशाला नगरपालिका–५ एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ गरेकाे थियो । उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो ।
अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको प्रहरीले जनाएको छ । वि.सं. २०७२ भदौ २५ गते डिउटीमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बि.क.को हत्या गरेको भन्ने कर्तव्य ज्यान मुद्दाको सम्बन्धमा उनलाई पक्राउ गरिएको थियो ।
महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याएर उच्च अदालत जनकपुर बुधबार ५ वर्ष कैद सजाय ठहर गरेको थियो। प्रहरीले सोही आदेश कार्यान्वयनका लागि कोइरीलाई पक्राउ गरेको थियो ।













