१ कार्तिक २०८३, शनिबार

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो


नयाँ बसपार्कमा दसैँका लागि अग्रिम टिकट लिनेको भीड

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ ।


वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेसँगै नयाँबसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले उपत्यकाभित्रका बसपार्क र नाकाहरूमा घर जानका लागि यात्रुको चाप बढेको बताए । नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप बढेको र त्यसलाई ट्राफिक प्रहरीले सहज रूपमा व्यवस्थापन गरिरहेको बताए ।

कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म चार लाख २३ हजार ६६४ यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । उहाँका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० यात्रु काठमाडौँबाट बाहिरिएका छन् ।

काठमाडौँबाट दसैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरीएका हुन् ।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीले बस व्यवस्थापन गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोको कारण केही समस्या भए पनि सम्बन्धित निकायसँगको सहयोगमा बसको व्यवस्थापन गरिरहेको बताए ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !