काठमाडौं । आज चार पूर्वप्रधानमन्त्रीहरु एउटै मञ्चबाट भाषण गर्दैछन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनालसहितका पूर्वप्रधानमन्त्रीहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका हुन् ।
सो कार्यक्रममको प्रमुख आतिथ्यता भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली, प्रचण्ड, नेपाल र खनालसहितका नेताहरु पनि सहभागी हुन लागेका हुन् ।
‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्ड र नेपालसँगै अन्य नेताहरु झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यस राष्ट्रिय गोष्ठीलाई मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे केन्द्रित उक्त कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले एउटै मञ्चबाट धारणा राख्ने कार्यक्रम छ ।













