काठमाडौँ । राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले राजधानीका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको वैकल्पिक व्यवस्था गरेर मात्रै हटाउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा धारणा राख्दै उनले कमजोर समुदायलाई राज्यले सम्बोधन गर्नुपर्ने र अभिभाकत्व प्रदान गर्नुपर्नेमा जोड दिए ।
सांसद चन्द्रबहादुर केसीले नेपालको संविधानको प्रभावकारी कार्यान्वयन गरेरमात्रै थप संशोधन तथा अन्य सुधारको कार्य गर्नुपर्ने धारणा राखे । नेपालको स्वाभिमान, स्वाधिनताको थप संवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय हितविपरीतका गतिविधि कोही कसैबाट हुन नहुने बताए ।
सांसद गोमादेवी तिमिल्सिनाले निर्माणाधीन हेटौँडा–ढल्केबर प्रसारण लाइनका कारण मकवानपुरका विभिन्न स्थानका नागरिक प्रभावित भएकाले उनीहरूको उचित माग सम्बोधन गर्न माग गरे । उनले हेटौँडामा सडक विस्तार गर्ने भन्दै अतिक्रमित क्षेत्र भत्काइए पनि हालसम्म निर्माणको काम सुरु नभएको भनी गुनासो गरे ।
सांसद रुक्मिणि कोइरालाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण मुलुकका हरेक क्षेत्र प्रभावित भएकाले तत्काल राहतको प्रबन्ध गर्न माग गरे । उनले किसानलाई तत्काल अत्यावश्यक रासायनिक मल उपलब्ध गराउन माग गरे ।
सांसद वासुदेव घिमिरेले सरकारले विपद् प्रतिकार्यको योजना के कस्तो बनाएको छ र कार्यान्वयन के कसरी गर्छ भनी प्रश्न गरे । उनले रेबिज खोपको यथेष्ट भण्डारण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भुवनबहादुर सुनुवारले नेपालको संविधानलाई थप समृद्ध बनाउन सम्बद्ध पक्षले आवश्यक बहस र छलफल गर्नु आवश्यक रहेको धारणा राखे ।













