४ असार २०८३, बिहिबार

‘सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट विनियाेजन


सुनिल लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सहरी तथा बजार क्षेत्रलाई समेट्ने ‘सघन सहरी कार्यक्रम’ अन्तर्गत करिब ३०० सहरका बजार व्यवस्थित गरिने बताएका छन् ।

‘विनियोजन विधेयक २०८३’ को सम्बन्धमा बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त कार्यक्रमका लागि तीन वर्षे कार्ययोजनासहित रु ८८ अर्ब ३३ करोड रकम विनियोजन गरिएको जानकारी दिए।

मन्त्री लम्सालले खरिद प्रक्रियामा लाग्ने १८ देखि २१ महिनाको अवधिलाई छोट्याएर छ-सात महिनामा झार्ने गरी बजेट व्यवस्था गरिएको जानकारी दिए। तीन वर्षको लक्ष्यसहितको समयसीमा भएकाले कार्यक्रम धेरै देखिएको भन्दै वार्षिक बजेट कम देखिएको उनले उल्लेख गरे।

मन्त्री लम्सालले रातो किताबमा रकम कम देखिए पनि तीन वर्षे बजेटको कुल रकम साविकको भौतिकतर्फ करिब रु पाँच खर्ब तथा साविकको सहरीतर्फ रु छ खर्ब ५० अर्ब योजना गरिएको स्पष्ट पारे। उनका अनुसार बजेट किताबमा रु २८६ अर्ब देखिए पनि कुल करिब रु ११ खर्ब ५० अर्ब तीन वर्ष कार्ययोजनासहित ठेक्का खोलिने छ।

सडक सुरक्षामा ध्यान नदिएको÷ग्रामीण क्षेत्रका सडक तथा पुल समेट्न नसकेको गुनासोका सम्बन्धमा उत्तर दिँदै मन्त्री लम्सालले सडक सुरक्षा तथा सजावट र सुविधाजन्य संरचनालाई उच्च महत्व दिइएको जानकारी दिए ।

“यसका लागि तीन वर्षे योजनासहित रु चार अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ”, उनले भने “जिल्ला सदरमुकाम जोड्ने एक लेनको सडकलाई तीन वर्षभित्र दुई लेनमा स्तरोन्नति गरिने छ, पहिचान भएका सबै पहिरो व्यवस्थापन सम्पन्न गरिनेछ । आगामी दिनमा स्तरोन्नति हुने सबै राजमार्गमा अण्डरपास, ओभरपास र फ्लाइओभरसहितको संरचना निर्माण गरिनेछ ।”

मन्त्री लम्सालका अनुसार सडक सुरक्षालाई थप सुदृढ बनाउन चालु ठेक्कामार्फत वा छुट्टै व्यवस्थामार्फत सडक सुरक्षा अवरोधक (क्र्यास ब्यारियर) र सडक चिन्हसङ्केत, ट्राफिक सङ्केतचिन्हलगायत सडक सुरक्षा अवयव स्थापनाको व्यवस्था गरिएको छ। “खोला-खोल्सी आदिमा सबैभन्दा बढी दुर्घटना हुने भएकाले तीन हजार वटा स्थानीय पुल निर्माण गर्ने लक्ष्यसहित रु ८१ अर्ब २२ करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ”, उनले भने।

सडक मर्मतले प्राथमिकता नपाएको सम्बन्धमा आएका प्रश्नको उत्तर दिँदै मन्त्री लम्सालले सडक मर्मतका लागि तीन वटा बजेट शीर्षकमा रकम विनियोजन गरिएको जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !