काठमाडौं । पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेल पठाएकी छिन् । पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै घरमा म्याद तामेल गरेपछि राणाले अख्तियारलाई इमेल पठाएकी हुन् ।
अख्तियार स्रोतका अनुसार आरजु राणा देउवाको नामबाट हिजो बुधबार अख्तियारको इमेल आइडीमा मेल आएको हो । उक्त मेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने व्यहोरा उल्लेख गरिएको छ ।
पासपोर्ट खरिद प्रकरणकमा अनुसन्धान अघि बढाएपछि अख्तियारले आरजुको बूढानीलकण्ठस्थित घरमा म्याद तामेल समेत गरेको थियो । जहाँ बाटोको म्याद बाहेक तीन दिनभित्र उपस्थित हुन भनिएको छ ।
आरजुका पति तथा पूर्वप्रधानमन्त्री, कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर छन् । अख्तियार उच्च स्रोतबाट प्राप्त कागजात केलाउँदा, गतवर्षको पासपोर्ट खरिद प्रक्रियामा परराष्ट्रमन्त्री डा. आरजु देउवाको कुनै लिखित निर्देशन वा अन्य निर्णय देखिँदैन ।
अख्तियारले पासपोर्ट छपाइ अनियमितता सम्बन्धी उजुरीमा छानबिनका लागि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि विशेष अदालतबाट थुना अनुमति लिएको छ ।













