गण्डकी । विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटनमा महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ ।
गण्डकीलाई विश्वव्यापी रूपमा पहिचान गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उक्त हिमालको आरोहण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सन् १९५० जुन ३ तारिखमा पहिलोपटक फ्रान्सका मौरिस हर्जोगले म्याग्दीतर्फबाट गरेको अन्नपूर्ण हिमालको सफल आरोहणपछि नै विश्वमा हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको पाइन्छ ।
हर्जोगको टोलीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याङ हुँदै उत्तरी मोहोडाबाट अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । उक्त आरोहणको महिमा र गरिमालाई जीवन्त राख्न म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले फ्रान्सेली टोली हिँडेको पदमार्गलाई प्रवर्द्धन र विकास गर्न सक्रियताका साथ लागेको छ ।
आठ हजार मिटरभन्दा बढी उचाइको यो हिमाल आरोहणपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएको हो । यस दिनलाई हरेक वर्ष गण्डकी प्रदेशमा विविध कार्यक्रमका साथ मनाउने गरिएको छ ।
यस वर्ष पनि म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिलगायत सङ्घसंस्थाले विभिन्न कार्यक्रमसहित दिवस मनाउने तयारी गरेका छन् ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले कास्कीको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन आयोजना गरेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।
फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ । यो हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्वर्गीय तेन्जिङनोर्गे शेर्पा र सरएडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।
सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएका कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्यातिप्राप्त गर्न नसके पनि यो हिमालले विश्वको सबैभन्दा जेठो हिमालको उपाधि हासिल गरेको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले बताए ।
अन्नपूर्णको सफल आरोहणसँगै समग्र नेपालको पर्वतीय पर्यटनको विकास भए पनि गण्डकी प्रदेशमा रहेका हिमालहरू पर्वतारोहणका लागि अपेक्षित उपयोग गर्न नसकिएको उनको भनाइ छ ।
अध्यक्ष गुरुङले भने,’अन्नपूर्ण हिमाल पोखरासहित समग्र गण्डकी प्रदेशको पहिचान हो । अन्नपूर्ण हिमालसहित गण्डकीका हिमालहरूको प्रवर्द्धन र उपयोगका लागि स्थानीय तह, प्रदेश सरकारसँगै सम्बद्ध सबैको सहकार्य आवश्यक छ ।’
आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथमसहित गण्डकी प्रदेशभित्र धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहे पनि हिमाल आरोहणले अपेक्षित गति लिन नसकेकातर्फ सम्बद्ध सबैको चासो पुग्नु पर्ने उनको भनाइ छ।
गण्डकी प्रदेशमा अन्नपूर्ण, धवलागिरि, मनास्लुजस्ता हिमशृङ्खला छन् । अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथमसहित अन्य सात हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, गङ्गापूर्ण, बराहशिखर हिमाल छन् । अन्नपूर्ण शृङ्खलाअन्तर्गत नै तिलिचो पिक, नीलगिरि, लम्जुङ आदि हिमाल रहेका छन् ।
तथ्याङ्कअनुसार सन् १९५० भन्दा अघि पोखरामा आउने विदेशी पर्यटकको सङ्ख्या नगण्य रहेको थियो । मौरिस हर्जोगको टोली अन्नपूर्ण हिमालको आरोहणमा आउने र जाने क्रमसँगै पोखरासहित समग्र गण्डकी प्रदेशमा पर्यटकीय गतिविधि बढेको पाइन्छ । अन्नपूर्ण प्रथमको आरोहणपछि नै पोखरासहित गण्डकी प्रदेश हुँदै समग्र नेपाललाई पर्यटकीय रूपमा विश्वभरि चिनाउने काम भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।
अन्नपूर्ण हिमालसहित गण्डकी प्रदेशमा रहेका हिमाललाई पर्वतीय पर्यटनका माध्यमबाट जोड्नु आवश्यक रहेको उनको भनाइ छ । अन्नपूर्ण हिमाल अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा संरक्षित छ । यस हिमाल र आसपासको सात हजार ६२९ वर्गकिमीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरेर राखिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत हिमालपारिका जिल्ला मनाङ र मुस्ताङसहित म्याग्दी, कास्की र लमजुङका विभिन्न भूभाग समेटिएको छ । अन्नपूर्णसहित गण्डकी प्रदेशका हिमालहरूलाई संरक्षण, प्रवर्द्धनसँगै पदयात्रा एवं पर्वतीय पर्यटनका माध्यमबाट उपयोग गर्न सकेमा त्यसले यहाँको पर्यटनमा विशिष्ट योगदान पुग्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने बताउँछन् ।
हाम्रा हिमालहरूको राष्ट्रिय एवं अन्तरराष्ट्रिय चिनारीका लागि आवश्यक प्रवर्द्धनात्मक कार्यक्रम जरुरी रहेको बताउँदै उनले बोर्डले पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा यस कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताए।
पदयात्राका लागि स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएको अन्नपूर्ण क्षेत्र ‘अन्नपूर्ण सर्किट’ रहेको छ । यस हिमालको पेरिफेरीमा अन्नपूर्ण चक्रीय पदमार्गसहित अन्य विभिन्न पदमार्ग रहेका टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यको भनाइ छ ।
उनका अनुसार जथाभावी बाटो खन्ने क्रमले पछिल्ला दिनमा २१ दिन समयावधि लाग्ने पदमार्ग पाँच÷सात दिनमा पार गर्न सकिने भएको छ । मौरिस हर्जोगले आरोहणका क्रममा पदयात्रा गरेको म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण उत्तरी आधार शिविरसम्मको पदमार्ग सात/आठ दिनमा पार गर्न सकने उनले जानकारी दिए ।
यस्तै, पुलहिलदेखि कास्कीतर्फको अन्नपूर्ण आधार शिवर, मर्दी हिमाल पदमार्ग, घान्द्रुक–टाढापानी–मुल्डे–हिडन लेक हुँदै छोम्रोङजस्ता धेरै पदमार्ग अन्नपूर्ण हिमालको पेरिफेरीमा रहेका छन् ।
पदयात्रा, हिमाल आरोहणलगायत कारणले अन्नपूर्ण हिमाल पोखरासहित समग्र गण्डकी प्रदशेको महत्त्वपूर्ण पर्यटकीय चिनारीका रूपमा स्थापित छ ।
यस वर्ष टान गण्डकीले लमजुङको दोर्दी गाउँपालिकाका गन्तव्यहरूको प्रवर्द्धनसहित जलवायु परिवर्तन र विश्वव्यापी उष्णताले पर्वतीय पर्यटनमा पारेको प्रभावलागयत विषयमा छलफल एवं अन्तक्र्रिया गर्न लागेको जनाइएको छ ।













