१८ जेष्ठ २०८३, सोमबार

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा


हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट, हुम्ला । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ पुगेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

उनका अनुसार दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न यहाँ आएको टोली घटना भएको क्षेत्र लामपाटा, च्याचौर क्षेत्र पुगेर सिमकोट पुगेको हो ।

टोलीले सिमकोट बसाइँका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसअघि, गत जेठ २ गतेदेखि ४ गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्रहरुप लिएपछि गृहमन्त्रालयले टोली गठन गरेको थियो ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले रु ४० लाख बजेट विनियोजन गरेर उक्त क्षेत्रमा प्रहरीचौकी निर्माण सुरु गरेपछि विवाद भएको हो । सीमा विवादले उग्ररुप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप हुँदा बाजुराका चार जना घाइते भएका थिए । घाइते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

सोही विवाद समाधान गर्न यही जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी विमलराज पौडेलको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !