कैलाली । धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले आज राति १२ः०० बजे जल चढाएर पूजाअर्चना गरी मेला सुरुवात गर्ने परम्परा रहेको बताए । यहाँ पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरु आउने गरेका छन् ।
परापूर्वकालमा त्यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ । मन्दिरको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रही आएको छ । खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वास भक्तजनहरुमा छ ।
त्यस्तै यहाँ पूजाआजा तथा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि सडक मर्मत, बत्ती जडानलगायतको व्यवस्थापन गरिएको आयोजक व्यवस्थापन समितिले जनाएको छ । बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विभिन्न चाडपर्वमध्ये गङ्गादशहरा पनि यहाँको महत्वपूर्ण चाड रहेको बताए । मेलाका अवसरमा उपमहानगरले सार्वजनिक बिदा पनि दिएको छ । यहाँ आउने भक्तजनहरुको सहजताका लागि निःशुल्क बस सञ्चालन गरिएको छ । आजबाट सुरु भएको मेला जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।













