काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जी अनुरूप पूर्वप्रधानमन्त्री देउवा दम्पतीलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । गत वैशाख १८ गते जारी अध्यादेश अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट चल्ने मुद्दाहरू विशेष अदालतमा पुग्नेछन् ।
यद्यपि विशेष अदालतको साटो काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।













