२८ बैशाख २०८३, सोमबार

टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा चक्कामा लाग्यो आगो


टर्किस एयरलाइन्स

काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । इस्तानबुलबाट आज सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा अवतरण गर्ने क्रममा आगो लागेको हो ।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो । विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । यात्रुहरु सकुशल छन् । आगो लाग्नुको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको विमानस्थल स्रोतले बतायो ।

विमानमा संयुक्त राष्ट्र संघका कूटनीतिज्ञहरु समेत सवार रहेको एसपी सिलवालले जानकारी दिए । यसअघि २०७१ सालमा पनि टर्किस एयरलाइन्सको विमान धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !