काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु ठूलो डिजाइन अन्तर्गत लागि परेको बताएका छन्।
२६औँ निर्मल लामा स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। संयोजक दाहालले सो तथ्यलाई स्वीकार गरेर अघि बढने आँट नेपालको कम्युनिष्ट आन्दोलनले नगरे श्रमजीवि जनताप्रति ठूलो घात गरेको ठहर्ने पनि बताए।
उनले नेपालका कम्युनिष्ट पार्टीहरूले आफैंभित्र पहिला समीक्षा गरेर सच्याउने र सिङ्गै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको दाबी समेत गरे। सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियो दाहालले सरकारले गरिव नागरिकलाई सबैभन्दा बढि पीडा दिएको आरोप लगाएका छन्।
संयोजक दाहालले श्रमजीवि वर्गमाथि सबैभन्दो ठूलो आहात दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताए।
उनले कम्युनिष्टहरूबीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरू एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताए। अध्यक्ष दाहालले नेपाली जनताले नेपालमा कम्युनिष्ट पार्टीहरुमाथि नै भरोसा गरिरहेको जिकिर पनि गरे ।













