२३ बैशाख २०८३, बुधबार

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल नियुक्त


प्रा. डा. जगदीशप्रसाद अग्रवाल

काठमाडौँ । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडीनसमेत रहनुभएका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् ।

उक्त नियुक्तिबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले भनिन्, “स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व प्रा डा अग्रवालको नियुक्तिले प्रधानमन्त्रीज्यूलाई मुलुकको स्वास्थ्य नीति र सेवा सुधारका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग र सुझाव प्राप्त हुने विश्वास लिएका छौँ । आइओएम जस्तो गरिमामय संस्थाको नेतृत्व गरिसक्नुभएका उहाँले अवैतनिक रूपमा आफ्नो विज्ञता र समय राज्यलाई उपलब्ध गराउनुहुनेछ ।”

प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको सन्दर्भमा डा अग्रवालको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञको रूपमा आफ्नो सेवा पुर्याउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु