७ बैशाख २०८३, सोमबार

आज अक्षय त्रितीया पर्व मनाइँदै


अक्षय त्रितीया पर्व

महोत्तरी । चन्द्रमास गणनाले आज वैशाख शुक्ल तृतीया तिथि । यस दिन मधेसका महोत्तरीसहित अन्य जिल्लामा अक्षय तृतीया पर्व मनाइँदै छ ।

हिन्दू परम्परामा यस दिन बाटो कुरेर नै बटुवालाई जौ र चनाको सातु एवं सक्खरको सर्वत खुवाउने गरिन्छ । पर्वका अवसरमा जौ र चनाको सातु एवं चिसो सर्वत दान गरेर भोका र तिर्खाएकाहरुलाई खुवाउँदा कहिल्यै नास नहुने पुण्य आर्जन हुने यहाँ जनविश्वास छ ।

यस दिन जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत ख्वाइन्छ, त्यति नै बढी पुण्य मिल्ने विश्वास छ । यसै विश्वासले आज बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् ।

यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक (बटुवा) लाई शीतलता दिने जौ र चनाको सातु, सक्खर मिलाई चिसो पानीमा बनाइएको सर्वत र मिष्टान्न परिकार खुवाइनु र परिवारजनले खाने चलनभित्र स्वास्थ्य सन्देश पनि रहेको स्वास्थ्यकर्मी बताउँछन् । 

गर्मी याममा पसिना धेरै निस्कने हुँदा शक्तिवद्र्धक सक्खरको सर्वत र पुष्टिवर्धक अन्न जौ र चनाको सातु खानपिनको प्रयोगमा जोड दिएइको बर्दिबास–१३ बिजलपुराका बासिन्दा वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउछन् ।

पर्वमा गरिब र अभाव भोगी, खेपिरहेका व्यक्तिलाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहितै दान गर्ने मैथिल परम्परा छ ।  

अक्षय तृतीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि  मानिने यो पर्वमा ब्राह्मण, कुलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने उल्लेख रहेको छ । यसै दिन भगवान् विष्णुको छैटाँै अवतार मानिने भगवान् पर्शुरामको जन्मदिन भएको पनि विश्वास गरिन्छ ।

यो पर्व सुख र समृद्धिको प्रतीक मानिन्छ । यो पर्वले मौसमअनुसार पुष्टिवर्धक भोजन गर्न सन्देश दिनेसँगै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देश दिएको पाका मैथिल बताउँछन् । 

पर्वमा कुल पुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्टान्न खाद्य परिकार र दक्षिणा दिएर आफ्नो र  परिवारका सदस्यहरुको जीवनमा शीतलताको कामना गर्दै जौ, चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरुको अन्नप्राशन र विवाहलगायत माङ्गलिक कार्यका लागि अर्को साइत हेर्न नपर्ने मान्यता छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !