४ बैशाख २०८३, शुक्रबार

त्रिविको जग्गा तथा अचल सम्पत्ति कब्जा गर्नेलाई ३५ दिनभित्र खाली गर्न अल्टिमेटम


त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्नेहरूलाई ३५ दिनभित्र खाली गर्न अन्तिम चेतावनी दिएको छ । विश्वविद्यालयले एक सार्वजनिक सूचना जारी गर्दै अवैध रूपमा भोगचलन गरिरहेका व्यक्ति, कम्पनी तथा संघ-संस्थाहरूलाई उक्त सम्पत्ति फिर्ता गर्न निर्देशन दिएको हो ।

त्रिवि जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले तयार पारेको २०८१ को प्रतिवेदनले विश्वविद्यालय र यसअन्तर्गतका निकायहरूको स्वामित्वमा रहेका जग्गाहरू प्रचलित कानुन विपरीत विभिन्न पक्षले कब्जामा लिएको देखाएको थियो। नेपाल सरकार र विभिन्न दाताहरूबाट शैक्षिक विकासका लागि प्राप्त भएका ती जग्गाहरू कतिपयले नियम मिचेर नियन्त्रणमा लिएको प्रतिवेदनमा उल्लेख छ।

त्रिवि कार्यकारी परिषद्को गत चैत २३ गतेको निर्णयानुसार जारी गरिएको यस सूचनामा सूचना प्रकाशित भएको मिति (२०८३ वैशाख ४ गते) ले ३५ दिनभित्र त्यस्ता जग्गा तथा भौतिक संरचनाहरू खाली गरी विश्वविद्यालयलाई आधिकारिक रूपमा हस्तान्तरण गर्नुपर्नेछ। विश्वविद्यालयले तोकिएको समयसीमाभित्र सम्पत्ति फिर्ता नगरेमा प्रचलित कानुन बमोजिम कडा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !