३ बैशाख २०८३, बिहिबार

मुस्ताङमा स्याउका बोटमा फूल फुलेपछि सेताम्मे


स्याउका बोट

मुस्ताङ । यति बेला यहाँ स्याउका बगैँचा सेताम्मे भएका छन् । बगैँचाका स्याउका बोटहरू फूलेर सेताम्मे हुँदै जान थालेका हुन् । स्याउको राजधानीका रूपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगै स्याउका बोटमा फूल फुलेर सेताम्मे हुन थालेको बताए ।

स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक उनको भनाइ छ । स्याउलाई शीतोष्ण प्रदेशीय फलफूलको राजा भन्ने गरिएको छ । स्याउको फूल र फल लाग्न ४५ दिनको समय सात डिग्री सेल्सियसभन्दा कम तापक्रमको आवश्यकता पर्छ । त्यसपछि स्याउको फूल फुल्ने र फल लाग्ने समयमा तापक्रम न्यूनतम १० डिग्रीदेखि २० डिग्री सेल्सियससम्म आवश्यकता पर्ने प्राविधिक सहायक राउतले जानकारी दिए ।

मुख्य गरी असोज र कात्तिक महिनामा स्याउको ‘पोस्ट हार्भेस्ट’ गरिएपछि बोट काँटछाँटलगायत बगैँचा व्यवस्था गरेपछि बर्सेनि चैत र वैशाखमा स्याउको फूल फुल्ने प्राविधिक सहायक राउतले जानकारी दिए ।

स्याउको गुणस्तर तथा उत्पादन वृद्धिका लागि स्याउ बोटमा फूल फुल्ने बेला पोलिनेसन (परागसेचन) आवश्यकता पर्छ । स्याउका कतिपय प्रजाति स्वतः प्राकृतिक रूपमा परागसेचन हुने र कतिपय स्याउका जातलाई परपरागसेचनको आवश्यकता पर्ने प्राविधिक सहायक राउत बताउँछन् ।

चालु वर्षमा ६/७ पटकसम्म वर्षा र हिमपात भए पनि स्याउका बोटमा फूल फुल्ने बेलामा प्रतिकूल मौसम, वर्षा र हिमपातले असर पुर्‍याउने गर्छ । स्याउको फूल फुल्ने समयलाई शीतोष्ण फूलका लागि निकै संवेदनशील समयका रूपमा लिने गरिएको छ ।

जिल्लाको लोमान्थाङदेखि तल्लो मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रका स्याउ बगैँचाका बोटमा फूल फुलेर सेताम्मे भइसकेको छ । स्याउको एक स्फरमा सात वटासम्म फूल फुल्छ । अनधिकृत स्याउका हाँगामा फूल फुलेमा प्राविधिकका रूपमा आवश्यक फूल रहने गरी फूललाई स्थापित गर्नुपर्ने कृषि तथा पशु शाखा मुस्ताङले उल्लेख गरेको छ ।

घरपझोङ–४ जोमसोमका किसान भूपेन्द्र शेरचनले स्याउको फूल फुल्ने बेलामा मौसमले पूर्ण रूपमा साथ दिनुपर्ने बताए । बोटमा परागसेचन हुने समयमा वर्षा हुने र मौसम ढुुम्म भएमा स्याउ बोटमा ढुसी पलाएर स्याउको गुणस्तरमा असर पुर्‍याउने किसान उनको भनाइ छ ।

यहाँका किसानलाई स्याउखेतीमा अनुदानलगायत किसानलाई स्याउखेतीको बारेमा जानकारी गराएर यहाँका कृषिसँग सम्वन्धित सरकारी निकायले प्रशिक्षित तुल्याउने गरेको उनले बताए ।

जिल्लाका पाँच स्थानीय तहमा कुल ८९९.१६ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । यहाँ स्थानीय परम्परागत स्याउ ८३७.१६ हेक्टरमा र इटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिको ‘हाइब्रिड’ स्याउ ६२ हेक्टर क्षेत्रफलमा गरिएको कृषि तथा पशु सेवा शाखाको तथ्यांकमा उल्लेख छ । यसमध्ये स्याउको उत्पादनशील क्षेत्र स्थानीय जातका स्याउ ५७२ हेक्टर र ‘हाइब्रिड’ स्याउ ५५ हेक्टर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !