२१ बैशाख २०८३, सोमबार

पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी


पोखरा बसपार्क

कास्की । पर्यटकीय राजधानी पोखरामा सुविधासम्पन्न बसपार्क बनाउने योजना पाँच दशकदेखि कागजमै सीमित छ। वि.सं. २०३२ सालमा पृथ्वीचोकस्थित २०५ रोपनी जमिनमा बसपार्क बनाउने योजना अघि सारिए पनि ५० वर्ष बितिसक्दा समेत काम हुन सकेको छैन ।

पूर्वमा सेती नदी, पश्चिममा साबिकको ट्राफिक भवन, दक्षिणमा एयरपोर्ट र उत्तरमा साल्ट ट्रेडिङको भित्रको चार किल्लाभित्र बसपार्कका लागि छुट्याएर राजत्रपत्रमा प्रकाशित गरिएको थियो।

लामो समयसम्म निर्माण कार्य अघि नबढ्दा बसपार्कका लागि छुट्याइएको जग्गा अतिक्रमणको चपेटामा परेको छ, जसका कारण २०५ रोपनीको क्षेत्रफल घटेर अहिले मात्र ४७ रोपनीमा खुम्चिएको छ।

महानगरपालिकाको एक अध्ययन अनुसार बसपार्कका लागि छुट्याइएको जमिनमा अहिले ४०० भन्दा बढी सुकुम्बासी परिवार बस्दै आएका छन्। व्यवस्थित बसपार्क नहुँदा अहिले लामो तथा छोटो दूरीका सवारी साधनहरू सडक पेटीबाटै छुट्न बाध्य छन्। यसले गर्दा पृथ्वीचोक क्षेत्रमा सधैँ ट्राफिक जाम हुने र यातायात अस्तव्यस्त बन्ने गरेको छ।

पछिल्लो समय पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि ३५ दिनको सूचना जारी गरेको छ। यही वैशाख ३ गते कार्यपालिकाको बैठक बसी महानगरपालिकाले अतिक्रमित संरचना हटाउन सूचना जारी गरेको हो।

संघीय राजधानी काठमाडौंमा केही दिनयता अतिक्रमित जमिन खाली गराउने क्रम जारी छ। पोखरामा रहेका पनि सुकुमवासीको व्यवस्थापन विना आफूहरुलाई हटाउन नहुने माग छ। बसपार्क भित्रको कृष्ण टोल आमा समूहकी अध्यक्षसमेत रहेकी स्थानीय रुपा केसीले आफूहरु अव्यवस्थित भएर बस्न नचाएको बताइन्।

उचित व्यवस्थापन गरेर मात्र बसपार्क बनाउन विगतदेखि नै भन्दै आएको उनी बताउँछिन्। उनी भन्छिन् “सुकुमवासीहरु कहिल्यै पनि बसपार्कको विरोधी होइनौँ। हाम्रो उचित व्यवस्थापन भएको खण्डमा हामी अहिले बसिरहेको ठाउँ छोड्न तयार छौँ, सरकारले गर्ने विकासमा सहयोग गर्छौं।”

भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले बसपार्कका सुकुमवासीलाई सकभर अहिले बसोबास गरिरहेको वडा नं ९ भित्र वा नजिकको वडामा पहिला व्यवस्थापन गर्नुपर्ने बताउँछन्। व्यवस्थापनविना महानगरले बसोबास गरिरहेको स्थान खाली गर्नका लागि सूचना जारी गरेपछि आफूहरु चिन्तित बनेको उनको भनाइ छ।

उनले भने,“महानगर कार्यपालिकाको निर्णयले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई चिन्तित भइरहेका छन्। उपयुक्त वैकल्पिक अवस्था पहिला महानगरले गरोस् र बल्ल २०५ रोपनी जमिनभित्र नै बसपार्क निर्माण होस्।”

मजदुर नेता रुद्र गौतमले बसपार्कका अतिक्रमित संरचना हटाउने काम थाले सरकारको कदममा आफूहरुको सहयोग रहने बताए। बसपार्कका लागि छुट्याएको २०५ रोपनी जमिनमै बसपार्क बनाउनुपर्ने उनको भनाइ छ।

उनले भने “बसपार्कको जग्गा विभिन्न कालखण्डमा पहुँच र शक्तिको दुरुपयोग गरी व्यक्तिगत पहुँचका आधारमा पुर्जा बनाएर घडेरी किनबेच भएको छ। वास्तविक सुकुमवासीलाई विकासको बाधक देख्ने काम गलत छ। पहिला विगतमा छुट्याइएको पूरै जग्गा खाली हुनुपर्दछ, त्यस्तो भएमा हाम्रो सहयोग रहन्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !