काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित निर्वाचित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे ।
मतदानमा ठाकुरको पक्षमा दुई सय २९ र प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाका पक्षमा पाँच मत खसेको थियो । कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्नेमा २२ मत खसेको थियो । हाल प्रतिनिधिसभामा दुई सय ७५ सदस्य रहेकामा मतदानमा दुई सय ५६ जना सांसदले भाग लिएका थिए ।
आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपसभामुखको उम्मेदवार रहेकी सरस्वती लामालाई पराजित गर्दै ठाकुर निर्वाचित भएकी हुन् ।
ठाकुरको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशोककुमार चौधरी र श्रम संस्कृति पार्टीकी अम्बिकादेवी सङ्ग्रौला रहेका थिए भने लामाको प्रस्तावकमा राप्रपाका ज्ञानबहादुर शाही तथा समर्थकमा राप्रपाकै ताहिर अलि भाट, खुस्बु ओली र भरत गिरी रहेका थिए ।
सयैबीच, सभामुख अर्यालले विजयी ठाकुरलाई बधाई दिए । विजयी भएकी २६ वर्षीया ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मत दिएका थिए । आजै राति १२ः०० बजेदेखि प्रतिनिधिसभाको पहिलो अधिवेशन समाप्त हुँदैछ ।











