फाइल फोटो काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।
निवर्तमान कार्यवाहक सभापति खड्कानिकट स्रोतले पनि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको पुष्टि गरेको छ । स्रोतका अनुसार धुम्बाराहीको एक होटलमा मंगलबार र बुधबार दुई दिनसम्म बैठक बस्ने छ । निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन् ।
छलफलपछि उनले पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका थिए ।













