२ चैत्र २०८२, सोमबार

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी


सिंगा तातोपानी

काठमाडौँ । कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रो पटक आए । ‘यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको समस्या दोहोरिन नदिन यसपाली पनि आएको हो,’ उनले भने, ‘तातोपानीमा शरिर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको महशुस गरेको छु ।’

धवलागिरी गाउँपालिका–३ मुनाका बुद्धिमान पुन छाला सम्बन्धी समस्याको उपचारका लागि तातोपानी कुण्डमा आएका आइतबार छ दिन भयो । सुरुका दिनको तुलनामा स्वास्थ्यमा सुधार हुदै गएको उनले अनुभव बताए ।

चितवनको भरतपुरकी चमेली घर्ति क्षेत्री पछिल्लो दश वर्षयता नियमित रुपमा वर्षको एक हप्ता तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने गर्छिन् । ‘खाना नरुच्ने, अपच हुने, ढाड दुख्ने समस्या निको भएकाले हरेक बर्ष तातोपानी डुब्न आउने गरेकी छु,’ उनले भने, ‘तातोपानीमा प्राकृतिक उपचार गराउँदा अस्पताल जानआउन लाग्ने समय र औषधी किन्दा हुने खर्चको बचत भएको छ ।’

चालिसे, पुन र घर्तीक्षेत्री जस्तै धेरै सर्वसाधारणहरुको लागि तातोपानी कुण्ड बरदान बनेको छ । वार्षिक २० हजार जना भन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारणहरु प्राकृतिक उपचारका लागि आउने गरेका सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव कुमार केसीले बताए ।

‘म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।’

महिला र पुरुषको लागि स्नानका लागि फरक-फरक समय तालिका बनाइएको छ । तातोपानीमा स्नान गर्दा एक जनाको रोग अर्कामा नसर्ने सचिव केसीले बताए । एक पटकमा दुई सय ५० जना स्नान गर्न मिल्ने पोखरी रहेको छ ।

छोटो समय स्नान गर्नेहरुका लागि अर्को पोखरी बनाइएको छ । एकान्तमा स्नान गर्नेहरुका लागि उपल्लो बजार नजिकै अर्को पोखरी पनि सञ्चालनमा ल्याइएको छ । कुण्डमा स्नान गरेपछि बाक्लो कपडाले बेरेर शरिरलाई न्यानो बनाउने गरिन्छ । पोखरीमा स्नानका साथै तातोपानी सेवन पनि गर्ने चलन छ ।

हिजोआज दैनिक एक हजार दुई सय जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका सदस्य मिना जुग्जाली गर्बुजाले बताए । ‘बिहान ५ः३० देखि साँझ ५०ः३० बजेसम्म महिला र पुरुषको छ वटा समूह बनाएर स्नानको ब्यवस्था मिलाइएका छौ,’ उनले भने, ‘असोज–कात्तिक, मंसिर, पुष, माघ, फागुन, चैत र बैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो ।’

चुनावका कारण फागुन महिनामा तातोपानी स्नान गर्न आउनेहरुको संख्या कम भएको थियो । चुनावलगत्तै तातोपानीमा चहलपहल र चाप बढेको छ । १० दिन स्नान गर्न प्रतिव्यक्ति तीन सय ५० रुपैयाँशूल्क तिर्नुपर्छ । प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ ।

गत वर्ष नेपालका ६६ वटा जिल्लाका साथै कोरिया, पोल्याड, युक्रेन, स्कटल्याड, रसीया, जापान र भारतका २० हजार तीन सय ४७ जना बिरामी तातोपानी कुण्डमा स्नानका लागि आएका थिए । आर्थिक वर्ष २०८०–८१ मा १९ हजार चार सय तीन र २०७९–८० मा १८ हजार जनाले स्नान गरेका थिए ।

तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरुले त्यहाँका होटल र होमस्टे भरिएका छन् । होटल ब्यवसायी समिति तातोपानीका अध्यक्ष सिता घलेले होटल र घरबासका कोठाहरु भरिभराउ भएका बताइन् । ‘साना ठूला २० वटा होटल छन्,’ उनले भनिन्, ‘घरको कोठा र ग्याँस भाडामा लिएर पाहुनाहरुले आफै पकाएर खाने र बस्न पनि मिल्छ ।’ म्याग्दी नदीको असला माछा तातोपानीको विशेष परिकार हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !