काठमाडौँ । ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा प्रज्वलनशील ग्यास निस्किएको छ । ग्यासबाट आगो बलिरहेको जिल्ला प्रहरीले बताएको छ ।
पानीका लागि बोरिङ गर्ने क्रममा बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला निस्किरहेको छ । महालक्ष्मी नगरपालिका स्थित टिकथलीमा एकजना स्थानीयले खानेपानीको लागि बोरिङ गर्दा ग्याँस निस्केको हो ।
स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेतापनि आगो निभेको छैन । आगो ननिभेकाले बोरिङ गर्ने काम रोकिएको छ ।
३५० मिटर गहिराइबाट ग्याँस निस्केको र सो ग्याँसबाट आगो बलेको हो । यद्यपि यसको कारण वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी रहेको बताइएको छ । सो स्थानमा प्रहरी र नगर प्रहरी पुगेका छन् ।













