२९ श्रावण २०८३, शुक्रबार

शशांकको धारणालाई समर्थन गर्दै शेखरले भने- चुनावी मैदानमा कांग्रेस एक्लै जानुपर्छ


डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसको सभापति पदका प्रत्यासी एवं नेता डा. शेखर कोइरालाले चुनावी मैदानमा कांग्रेस एक्लै जानुपर्ने बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले अबको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा जानुपर्ने बताएका हुन् ।

नेता कोइरालाले स्थानीय तहको निर्वाचन घोषणा भइसकेकोले काँग्रेसले गाउँदेखि सहरसम्म सबै स्थानीय निकायमा लोकप्रिय, क्षमतावान, इमान्दार र पार्टीमा योगदान पुर्‍याएका साथीहरूलाई बिना भेदभाव र पूर्वाग्रहरहित तरिकाले उम्मेदवार चयन गर्न सकेमात्र काँग्रेसको जीत सुनिश्चित हुने बताए ।

कोइरालाले कांग्रेसका नेता कार्यकर्ताले रुख चिन्हमै मतदान गर्न पाउनुपर्ने स्पष्ट धारणा राख्दै कांग्रेसीहरूलाई रुख चिन्हमा मतदान गर्न नदिई अप्राकृतिक गठबन्धन गर्न नहुने भन्दै उनले पार्टीभित्र एकता, सम्मान र न्यायलाई स्थान दिए स्थानीय तहमात्रै नभई प्रदेश र संघीय निर्वाचनमा पनि कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने बताए ।

कांग्रेसका पूर्वमहामन्त्री एवं नेता डा. शशांक कोइरालाले हिजो बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकमा आफ्ना धारणा राख्दै आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । कोइरालाले स्थानीय निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धामा जानुपर्ने बताएका थिए ।

कोइरालाले काँग्रेसले आफ्नो अस्तित्व जोगाउनुपर्ने भन्दै गठबन्धनमा बस्न नहुने बताएका थिए । कोइरालाले निर्वाचनमा कांग्रेसलाई भोट हाल्न चाहनेहरूलाई अर्को पार्टीमा भोट हाल्न बाध्य पार्नु बुद्धिमानी नहुने बताएका थिए । उनले कांग्रेसलाई भोट हाल्न तयार भएर बसेकाहरूलाई अर्को पार्टीमा भोट हाल्न बाध्य पार्नु उपयुक्त नहुने स्पष्ट पारेका थिए ।

यसरी शेखरले पनि आगामी निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने भन्दै शशांकको धारणालाई समर्थन गरेका हुन् । आगामी स्थानीय निर्वाचनमा काँग्रेस एक्लै लड्ने वा वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गरेर जाने भन्ने काँग्रेसमा दुविधा बढिरहेको बेला दुई भाई कोइरालाको उक्त विषयमा आएको एकै स्वरले पार्टी सभापति शेरबहादुर देउवालाई थप दवाव सिर्जना भएको छ ।

यो पनि पढ्नुहोस्

स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नु नहुने शशांकको जोड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !