१५ बैशाख २०८१, शनिबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमा कम्पनीमा झुम्मीए लगानीकर्ता


Bullish trend share-market

३ वैशाख, काठमाण्डौ । सोमबारको सयरबजारमा दोहोरो अंकको सुधार आउँदा लगानीकर्ता भने बीमा कम्पनीहरुतर्फ तानिएका छन् । १७ अंकले नेप्से बढ्दा आधादर्जन कम्पनीको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । उच्च कारोबार हुने र सेयरमूल्य बढ्नेमा बीमा कम्पनीहरुको अग्रता देखिएको छ ।

सोमबार नेप्से १७.४२ अंकले उकालो लागेर १२९७ अंकमा पुगेको छ । कारोबारमा आएका अधिकांश समूहका सूचक उकालो लागेपछि बजार दोहोरो अंकले बढेको हो ।

सेमि–अनलाइन कारोबार प्रणालीको सुरुवात र योसँगै पूर्ण स्वचालित कारोबार प्रणाली समयमै आउने खबर लगायतका कारणले बजारमा उत्साह छाएको छ । नेप्से इण्डेक्स् र कारोबार रकममा आएको समानान्तर वृद्धिले बजार सकारात्मक दिशामा जाने संकेत देखिएको छ ।

बीमा कम्पनीको सूचक सबैभन्दा धेरै २९३ अंकले बढेको छ । माइक्रोफाइनान्स समूह ७२.११ अंक, बैकिङ समूह ४.२८ अंक, होटल समूह ५२.१६ अंक, विकास बैंक समूह १६.७५ अंक, जलविद्युत समूह १२.२३, बित्त समूह १४.६७ अंक, उत्पादनमूलक ११.२४ अंकले बढ्यो । यो दिन अन्य समूह भने १.२१ अंकले घट्यो ।

यसदिन १६७ कम्पनीको ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा २७ करोड बढी हो । सेयर बजारमा आएको बढोत्तरीले लगानीकर्ताको सम्पत्ति समेत बढेर १५ खर्ब २१ अर्ब नाघेको छ ।

बजारमा सुधार आउँदा धेरै कमाउने र कारोबार गर्नेमा बीमा कम्पनीहरुको अग्रता देखिएको छ । यसदिन प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भयो । त्यस्तै नेको इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्सको पनि उच्च कारोबार भएको छ । उच्च कारोबार गर्ने दश कम्पनीको सूचिमा कुमारी बैंक बाहेक सबै बीमा कम्पनी रहेका छन् ।

कारोबारमा मात्र होईन धेरै कमाउनेको सूचिमा पनि इन्स्योरेन्स कम्पनी नै अगाडि देखिएका छन् । विभिन्न ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, यूनाईटेड इन्स्योरेन्स कम्पनी एसियन लाइफ इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ ।

यो दिन नेपाल लाइफका संस्थापक सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको संस्थापक सेयरको मूल्य १० प्रतिशतले घट्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !